अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा, पाकिस्तान पराजित

शुक्रबार २६, कार्तिक २०७८ ०३:३१

अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो ।

अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे । यस्तै, अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।  रिजवानले ६७ र जमानले ५५ रन बनाए । यस्तै, कप्तान बाबर आजमले ३९ रन जोडे ।  

अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १/१ विकेट लिए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अस्ट्रेलियाले फाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया