यो वर्ष बक्स अफिसलाई चलायमान बनाउन सक्ने ५ फिल्म

शुक्रबार १०, मङि्सर २०७८ १०:३१

काठमाडौं । नेपाली चलचित्रका केही वितरकहरु भन्ने गर्छन्, दशैं-तिहारजस्ता ठूला चाडपर्व नेपाली निर्माताले गुमाउनु ठूलो हो । दर्शकले प्रतीक्षा गरेका कुनै नेपाली चलचित्र चाँडै प्रदर्शन गर्ने हो भने बक्स अफिसमा उछाल आउने उनीहरुको बुझाइ छ ।

करिब दुई वर्षदेखि नेपाली चलचित्र हेर्न नपाएर छट्पटिएका दर्शक पनि केही यस्ता चलचित्र पर्खिरहेका छन्, जसले नेपाली चलचित्र क्षेत्रको दुई वर्ष लामो सन्नाटालाई चिर्नेछ ।

पहिलो चरणको लकडाउन अगाडि नै घोषणा भएका महंगा बजेटका केही चलचित्रदेखि गत वर्ष भदौपछि छायांकन भएका एकाध चलचित्रले प्रदर्शन मिति तय गरेसँगै नेपाली चलचित्र क्षेत्रमा चहलपहल शुरु भएको छ । यसले बक्स अफिसमा उछाल ल्याउने मात्र होइन, नेपाली चलचित्र क्षेत्रलाई नै नयाँ जीवन दिने अपेक्षा गरिएको छ ।

चपली हाइट ३

अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्र पुस २ गतेबाट रिलिज हुँदैछ । उसो त, यो चलचित्रसँग विदेशी दुई ठूला चलचित्रको भिडन्त हुँदैछ । तर पनि स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले नेपाली चलचित्रका दर्शकलाई हलसम्म फर्काउने अपेक्षा गरिएको छ ।

यो चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । बलिउड चलचित्रका लागि दर्शक हलसम्म फर्किएको अवस्थामा नेपाली चलचित्रलाई दर्शकले कति प्रतीक्षा गरेका छन् भन्ने नजिता यो चलचित्रको व्यापारले पुष्टि गर्नेछ । यो चलचित्रको प्रदर्शन मिति यसअघि २०७६ चैत २८ गतेलाई तोकिएको थियो ।

म यस्तो गीत गाउँछु २

कोरोना महामारीबाट सबैभन्दा ठूलो मारमा परेको ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति माघ १९ गतेलाई तय गरिएको छ । पूजा शर्मा, पल शाह, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । पहिलो सिरिज हिट भइसकेको यो चलचित्रको दोस्रो सिरिजको गीत भने ब्लकबस्टर भइसकेको छ । पूजा र पलको जोडीलाई दर्शकले निक्कै रुचाएका कारण पनि बक्स अफिसमा यो चलचित्रले नयाँ उत्साह जगाउने अपेक्षा गरिएको छ ।

प्रेमगीत ३

चलचित्र ‘प्रेमगीत ३’ पनि सर्वाधिक प्रतीक्षामा छ । यो चलचित्र यही वर्षको दशैं वा तिहारमा रिलिज भएको भएपनि बक्स अफिसमा नयाँ रेकर्ड कायम हुने विश्लेषण गरिएको थियो । तर, निर्माता सन्तोष सेनले फागुन १३ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरेका छन् । सन्तोष र छेतन गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठको मुख्य भूमिका छ । अघिल्ला दुई सिरिजका कारण पनि यो चलचित्र दर्शकमाझ प्रतीक्षामा छ । यसैले शिवरात्रीको बिदामा यो चलचित्रले दर्शकको ठूलो भीड हलसम्म तान्ने अनुमान गरिएको छ ।

सम्हालिन्छ कहिले मन

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ गतेबाट रिलिज हुँदैछ । पूजा शर्मा, सोनम तोप्देन, आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रलाई पनि प्रतीक्षाको रुपमा हेरिएको छ ।

दुई वर्षअघि नै छायांकन भएर पनि बारम्बार प्रदर्शन मिति तय भएर रिलिज हुन नपाएको यो चलचित्रले पनि व्यापार राम्रो गर्ने अपेक्षा गरिएको छ ।

ए मेरो हजुर ४

अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ यो वर्षको अर्को प्रतीक्षित चलचित्र हो । प्रेमकथामा आधारित यो चलचित्र चैत २५ गते रिलिज गर्ने निर्माता सुनिलकुमार थापाको तयारी छ । तर, वैशाख १ गते दुई ठूला हिन्दी चलचित्र रिलिज हुने भएपछि हिट सिरिजको यो चौथो शृङ्खला चैत १८ गतेबाट रिलिज हुने सम्भावना बढी छ । चलचित्र ‘ए मेरो हजुर’को तीनवटै शृंखला हिट मानिन्छन् ।

अनमोल र सुहानाको जोडी रहेको ‘ए मेरो हजुर ३’ले पनि बक्स अफिसमा ८ करोड हाराहारीको व्यापार गरेको थियो । यसैले यो वर्षको अन्तिम साता रिलिज हुन लागेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा उत्साह थप्ने आँकलन छ ।

प्रतिक्रिया