१८औं हस्तकला मेला सम्पन्न, आठ करोड रुपैयाँ बराबर कारोबार

सोमबार ०६, मङि्सर २०७८ ०६:०९

नेपाल हस्तकला महासंघले आयोजना गरेको तीनदिने १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मेलामा आठ करोड रुपैयाँ बराबर कारोबार भएको महासंघले जानकारी दिएको छ ।  


काठमाडौंको हायात होटलमा आयोजित मेला एक लाख जनाभन्दा धेरैले अवलोकन गरेको महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले बताए । पहिलो दिन शुक्रबार २३ हजार र दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेकोमा तेस्रो दिन शनिबार अवलोकनकर्ता व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यले दाबी गरे ।

महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गरिन् । मेला समापन अवसरमा १६औं कला प्रतियोगिताका विजेताहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएकी छिन् भने पुन महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भए ।

परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भए । प्रथम द्वित्तीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरूको सृजना हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटित मेलाको समापन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेका हुन् । मेलामा विभिन्न हस्तकला विधाका ज्ञ२० भन्दा बढी स्टल रहेका थिए ।
मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी गरिएको थियो ।

यसैगरी परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारा गाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनीको साथै विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो । सीप पुस्तान्तरणका लागि प्रविधि र ज्यावलहरू पनि हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया