फागनु १३ मा ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि ‘लप्पनछप्पन २’ अन्योलमा

शुक्रबार १०, मङि्सर २०७८ १०:१५

१० मंसिर, काठमाडौं । लकडाउनका कारण दुई वर्षदेखि रोकिएको नेपाली चलचित्र क्षेत्र तंग्रिन थालेको छ । विदेशी चलचित्रको प्रदर्शनबाट दर्शक हलमा आएपछि नेपाली चलचित्रकर्मीहरु पनि उत्साहित छन् । अहिले निर्माताहरुले धमाधम चलचित्रको रिलिज मिति तोक्न थालेका छन् ।

चलचित्र विकास बोर्डले तीन महिनाभित्र रिलिज हुने चलचित्रका लागि केही रकम सहयोग गर्ने आश्वासन पनि दिएको थियो । तर, विदेशी चलचित्र हरेक साता रिलिज हुँदा नेपाली निर्माताहरु त्यसलाई छल्दै चलचित्र रिलिज गर्न बाध्य छन् ।

फागुन १३ गते केही महिना अगाडि नै चलचित्र ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तोकेको थियो । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता बारम्बार रिलिज मिति सार्न बाध्य छन् । मुकुन्द आफैंले यसपटक भने फागुन १३ लाई प्रदर्शन मिति तोकिएको बताएका थिए । यो चलचित्रलाई वितरक गोविन्द शाहीले वितरण गर्दैछन् ।

तर, यही मितिमा चलचित्र ‘प्रेमगीत ३’ पनि रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले चलचित्रको प्रदर्शन मिति घोषणा गरेपछि ‘लप्पन छप्पन २’को प्रदर्शन फेरि अन्यौलमा देखिएको छ ।

‘प्रेमगीत ३’लाई पनि गोविन्द शाहीले नै वितरण गर्दैछन् । चलचित्र निर्माता संघ र चलचित्र संघका पदाधिकारीहरुको बैठकले दुई साताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्ने सहमति पनि गरेका थिए । तर, फागुन १३ गते एउटै वितरकको दुईवटा चलचित्र रिलिज हुँदा भने सहमतिको अर्थ नदेखिएको चर्चा हुन थालेको छ ।

तर, वितरक गोविन्द शाही भने निर्माताले मनोमानी रुपमा चलचित्रको प्रदर्शन मिति तोकेको आरोप लगाउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म काठमाडौं बाहिर गएको थिएँ, बिहीबार मात्र फर्किएँ । खै, अहिले त वितरकहरुसँग सल्लाह नै नगरी निर्माताले प्रदर्शन मिति तोक्न थालेका छन् । म आफैं पनि छक्क परेको छु ।’

गोविन्दले चलचित्र ‘प्रेमगीत ३’को टिम भारतमा भएकाले पनि सल्लाह हुन नपाएको बताए । ‘वितरकको कुरा सुनेर समय मिलाएर चलचित्र रिलिज गरे त यो क्षेत्रलाई पनि फाइदा नै हुन्थ्यो । तर, यहाँ त निर्माताले हाम्रो कुरा सुन्दै सुन्दैनन्,’ उनले भने, ‘अब प्रेमगीत ३ को टिम नेपाल फर्किएपछि यो विषयमा कुरा गर्छु ।’

एउटै वितरकका दुई चलचित्र एउटै मितिमा रिलिज हुने हो भने यसले नेपाली चलचित्रको अवस्थालाई ध्वस्त पार्ने चलचित्रकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया