चीनमा जन्मदर चिन्ताजनक रूपमा घटेपछि दबाबमा सरकार

शुक्रबार १०, मङि्सर २०७८ ०९:०८

चीनको जन्मदर सन् १९७८ पछि पहिलोपटक सबभन्दा तल्लो स्तरमा पुगेको छ । चीनको तथ्यांक विभागले प्रकाशन गरेको आँकडालाई उद्धृत गर्दै द गार्डियन पत्रिकाले छापेको समाचारमा यो खुलासा भएको हो । 

चीन सरकारले जनसंख्या बढाउनका लागि विभिन्न प्रयास गरिरहेको भए पनि सफलता हासिल भइरहेको छैन । सन् २०२० मा प्राकृतिक जन्मदर घटेर प्रतिहजारमा १.४५ पुगेको छ । सन्तानप्राप्तिमा दशकौंदेखि हस्तक्षेप गरिएको अनि जीवनयापन महंगो बन्दै गएकोले जनसंख्या घटिरहेको हो र त्यसलाई रोक्ने दबाब सरकारलाई छ । 

जनसंख्याविद्हरूले प्रसव गर्ने उमेरका महिलाहरूको संख्या घटिरहेको अनि परिवारको पालनपोषणको खर्च बढिरहेकोले गर्दा जनसंख्यामा कमी आइरहेको बताएका छन् । 

चीनमा लामो समयसम्म एक सन्तान नीति लागू गरियो । निकै पछि आएर त्यसलाई खुकुलो बनाइएको भए पनि चिनियाँहरू आफैं बच्चा जन्माउन चाहिरहेका छैनन् । त्यसले गर्दा चीनमा युवाको संख्या निरन्तर घटिरहेको छ र सरकारको चिन्ता बढिरहेको छ ।

प्रतिक्रिया