टी-२० विश्व कप क्रिकेट : इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

बिहिबार २५, कार्तिक २०७८ ०३:४७

न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो ।

जितको लागि १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल अगाडि नै ५ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ७२ रनमा अविजित रहे । न्युजिल्यान्डका​डेभन कन्वेले ४६ तथा जेम्स निसामले २७ रन जोडे । इङ्ग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले समान २/२ तथा आदिल रासिदले एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । इङ्ग्ल्यान्डका मोइन अली ५१ रनमा अविजित रहे । डेविड मलानाले ४१ र जोस बटलरले २९ रन जोडे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्स नासमले समान १/१ विकेट लिए।

यसअघि न्युजिल्यान्ड सन् २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनल खेलमा न्युजिल्यान्ड इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । न्युजिल्यान्डले उपाधिका लागि आइतवार आजको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया