एनआरएनएको चुनावको मिति तय, असन्तुष्ट समूह के भन्छ ?

सोमबार ०६, मङि्सर २०७८ ०७:१३

गैरआवासीय नेपाली संघ (एनआरएनए)को रोकिएको निर्वाचन तथा विश्व सम्मेलनको नयाँ मिति तय भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्तिमार्फत  डिसेम्बर १९ र २० मा विश्व सम्मेलन र कार्यसमितिको नेतृत्वको लागि  डिसेम्बर १५ तारिखका दिन निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन् । 

एनआरएनएको निर्वाचन गत अक्टोबरमै गर्ने भनिएपनि संघभित्रको विवादका कारण स्थगित भएको थियो । परराष्ट्र मन्त्रालयसँगको छलफलका आधारमा नयाँ मिति तय गरिएको पन्तको भनाइ छ ।

 विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएको भन्दै उनले केहि समय अगाडि परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग घनिभूत छलफल भएको बताएका छन् । 

संघले मन्त्रालयसमक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको पन्तको भनाइ छ । 

‘संघले प्रस्तुत गरेको मार्गचित्रमा मन्त्रीबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरूको आधारमा  १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ तथा संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ’, पन्तको विज्ञप्तिमा भनिएको छ । 

पन्तले संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।  यसैबीच एनआरएनए भित्रको असन्तुष्ट समूहले डेलिगेट्स समस्या समाधान गरेर मात्रै चुनाव गर्नुपर्ने बताएको छ ।

गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले दशौँ महाधिवेशनका लागि प्रतिनिधि  छनोट सम्बन्धि विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनुपर्ने अडान दोहोर्याए । 

“चाँडोभन्दा चाँडो चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो र हामी चुनावका लागि तयार छौं। तर डेलिगेट्स छनोट सम्बन्धी विवाद, संघका अभियन्ताहरुले परराष्ट्रमा दिएको उजुरी र परराष्ट्र मन्त्रालयले दिएको लिखित निर्देशनलाई सम्बोधन नगरी एकपक्षीय रुपमा चुनावको मिति घोषणा गर्नु गैर जिम्मेवारीपनको उदाहरण हो,” आचार्यले भने। 

उनले वर्तमान आइसीसीको कार्यकाल पुरा भैसकेकोले विधानको मर्म र गत अक्टोबर महिनामा भएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाको निष्कर्ष बमोजिम डेलिगेट्स छनोटसम्बन्धी विवाद समाधान गरी निर्वाचन समितिसँग समन्वय गरी चुनाव गराउन संरक्षक परिषद्लाई जिम्मा दिन माग गरे। आचार्य समूहको उजुरीकै कारण एनआरएनएको विश्व सम्मेलन इतिहासमै पहिलोपटक सरेको थियो ।

प्रतिक्रिया