साहित्यिक पत्रकार संघको अध्यक्षमा दुवाल

सोमबार ०६, मङि्सर २०७८ ०६:२३

नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन भएका छन् ।

त्यस्तै संघको केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा भएका छन् ।

वि.सं. २०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे वनेपा घोषणापत्र समेत जारी गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको बताए । उनले साहित्यिक पत्रकारिता देशको जेठो पत्रकारिताको रुप धारण गरे पनि त्यसले गति लिन नसक्नुका मुख्य कारण राज्यले आवश्यक सहयोग गर्न नसक्नु रहेको बताए ।

‘साहित्यिक पत्रपत्रिका टिकाउनु राज्यको पनि दायित्व भएकाले काउन्सिलको वर्गीकरणमा पारेर मात्रै नभई त्यसलाई विशेष प्रकारले राज्यले सहयोग गर्न आवश्यक छ’ उनले भने । कार्यक्रमको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष नगेन्द्रराज शर्माले अब नयाँ आउने कार्यसमितिले साहित्यिक पत्रकारहरुको पक्षमा राम्रो काम गरेको हेरेर रम्न चाहेको बताए ।

प्रतिक्रिया